चलचित्र विकास बोर्डले बालबालिकाको सृजनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी जेठ ४ गतेदेखि ८ गतेसम्म इलाममा बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला आयोजना गर्ने भएको छ।
बोर्डद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएअनुसार, कार्यशालामा जिल्लाभरिका विद्यालय, बाल क्लब र बाल समुदायबाट समावेशी सहभागिता सुनिश्चित गरिनेछ। प्रशिक्षणमा कक्षा ७ देखि ९ सम्म अध्ययनरत, १५ वर्षमुनिका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्।
बोर्डले इच्छुक बालबालिकालाई ३ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। आवेदन चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन तथा प्रत्यक्ष दुबै माध्यमबाट दिन सकिने छ। यहाँ बाट आवेदन दिन सकिन्छ ।
प्रशिक्षण कार्यशालामा निर्देशक बद्री अधिकारीसहित लेखन, छायांकन, सम्पादन र संगीत विधामा विज्ञ ३ जना प्रशिक्षकले सहजीकरण गर्नुहुनेछ ।
कार्यशालाको उद्देश्य नेपाली बाल चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्नुका साथै चलचित्र साक्षरता अभिवृद्धि, दक्ष जनशक्ति उत्पादन, तथा बालबालिकाले आफ्ना कथा भन्ने र हेर्ने वातावरण सिर्जना गर्नु रहेको जनाइएको छ।