पर्यावरण, आर्थिक र सामाजिक दिगोपनको विकासका लागि कार्यरत संस्था आईडियाज (IDEAS) को आयोजना र उन्नती काठमाडौं को सहकार्यमा पोखरा महानगरपालिका–२३ स्थित श्री चापाकोट आधारभूत विद्यालयमा “विद्यालय शिक्षण सिकाइ सामग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रम पोखरा महानगरपालिका वडा नं. २३ का अध्यक्ष रामकाजी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा आईडियाजका अध्यक्ष अमृत देवकोटा, उन्नतीका अध्यक्ष विष्णु खत्री तथा आईडियाजका सचिव देवीप्रसाद देवकोटाले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकलाई करिब पाँच लाख रुपैयाँ बराबरको शिक्षण सिकाइ सामग्री हस्तान्तरण गरे।
विद्यालयलाई प्रदान गरिएको सामग्रीमा कापी, कलम, खेलकुदका सामान, सांगितिक सामग्री, साथै प्रिन्टर, कम्प्युटर लगायत सूचना प्रविधिका सामग्रीहरू रहेका छन्।
यस कार्यक्रमबाट विद्यार्थीहरूलाई सिकाइका लागि आवश्यक उपकरणहरू उपलब्ध गराउँदै शैक्षिक प्रेरणा र सहजता वृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय समुदाय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै आईडियाजका अध्यक्ष अमृत देवकोटाले, “आगामी दिनहरूमा ग्रामीण तथा सिमान्तकृत विद्यालयहरूमा गुणस्तरीय शिक्षा सशक्तिकरण अभियानलाई निरन्तरता दिइनेछ,” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आईडियाजले विगत लामो समयदेखि पोखरालाई केन्द्रविन्दु बनाई पर्यावरण, आर्थिक र सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।