बालबालिकाको सुरक्षित, भेदभावरहित र शान्त वातावरणमा शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रत्येक वर्ष जेठ ११ गतेलाई 'विद्यालय शान्तिक्षेत्र दिवस' को रूपमा घोषणा गर्न नेपाल सरकारसमक्ष औपचारिक अपिल गरेको छ।
वि.सं. २०६८ सालको यही दिन नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विद्यालयहरूलाई शान्तिक्षेत्र घोषणा गर्ने ऐतिहासिक निर्णय लिएको थियो। सो निर्णयलाई कार्यान्वयनमा ल्याउन ‘विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८’ पनि पारित गरिएको थियो।
सिजपका अनुसार उक्त निर्देशिकाले विद्यालयहरूलाई सशस्त्र गतिविधि, राजनीतिक हस्तक्षेप, भेदभाव, दुव्र्यवहार र शोषणबाट मुक्त राख्दै शैक्षिक तथा सिकाइ क्रियाकलापमा हस्तक्षेप नगर्नुपर्ने व्यवस्था गरेको छ। साथै विद्यालय वरिपरिका क्षेत्रमा हिंसात्मक गतिविधि, हड्ताल, जबर्जस्ती भर्ती, र विद्यालयमा आक्रमण नगर्न आग्रह गरिएको छ।
नेपालको संविधानको धारा ३९ (६) र बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ (८) मा पनि बालबालिकाको हितविपरीत कुनैपनि गतिविधि विद्यालयमा गर्न नपाइने व्यवस्था छ।
यद्यपि द्वन्द्वकालका समयमा गाडिएका विष्फोटक पदार्थ विस्फोट हुँदा बालबालिकाको ज्यान जाने, सवारी दुर्घटनामा विद्यार्थीहरू संलग्न हुने, हड्ताल, ¥याली, सभा, राजनीतिक प्रयोगलगायतका घटनाले बालबालिकाको शान्तिपूर्ण शिक्षामा असर पारिरहेको सिजपको भनाइ छ।
सिजपले नेपाल सरकारले विद्यालय शान्तिक्षेत्र सुनिश्चित गर्न हालसम्म गरेका प्रयासहरूको उच्च मूल्याङ्कन गर्दै, अब उक्त निर्णय भएको दिनलाई ‘विद्यालय शान्तिक्षेत्र दिवस’ को रूपमा औपचारिक घोषणा गर्न माग गरेको छ। साथै यस कार्यमा सरकारको सकारात्मक धारणा र सक्रिय पहलकदमी को समेत अपेक्षा गरेको छ।