सोमबार २३ असार, २०८२

नेपाली समय

गरिबी र कुपोषणको चपेटामा मुक्तिकोट

गरिबी र कुपोषणको चपेटामा मुक्तिकोट

बाजुराको स्वामीकार्तिक गाउँपालिका–२ स्थित मुक्तिकोटमा गरिएको सर्वेक्षणले २५ जना बालबालिका कुपोषणको चपेटामा परेको देखाएको छ। मुक्तिकोटका २७५ घरधुरीमा गरिएको अध्ययन अनुसार, ११ जना बालबालिकामा गम्भीर (रातो) र १४ जनामा मध्यम (पहेँलो) स्तरको कुपोषण पाइएको मुक्तिकोट स्वास्थ्य चौकीका इन्चार्ज वृज विकले जानकारी दिनुभयो।

उहाँका अनुसार चालु आर्थिक वर्षमा कुपोषणकै कारण दुई बालबालिकाले ज्यान गुमाएका छन्। मृतकमा वडा नं. २ की रूपसरा न्यौपानेका १६ महिनाका छोरा सन्तोष न्यौपाने र वडा नं. १ की जमुना विक रहेका छन्। इन्चार्ज विकका अनुसार रूपसरालाई स्वास्थ्य सेवा लिन सम्झाउँदा पनि नमानेपछि उपचार नपाई सन्तोषको मृत्यु भएको हो। यस्तै, गाउँमा अरू दुई–तीन बालबालिकाको पनि कुपोषणका कारण मृत्यु भएको आशंका गरिएको छ।

स्थानीय समाजसेवी मनबहादुर रोकायाका अनुसार, ूस्वामीकार्तिक गाउँपालिका प्राकृतिक रूपमा सुख्खा र खडेरी प्रभावित क्षेत्र हो। उत्पादन न्यून, पोषणयुक्त खाना र तरकारीको अभाव छ। जन्मदर भने उच्च छ। कुनै परिवारमा एक व्यक्तिका दुई श्रीमती र २० जना सन्तान समेत छन्। यस्तो अवस्था सामान्य मानिन्छ। रोकायाले चेतनाको अभाव, गरिबी र परम्परागत सोचका कारण कुपोषणको समस्या गहिरिएको बताउनुभयो।

वडा नं. १ का वडाध्यक्ष अजय विकका अनुसार, ूगाउँपालिकाले मुक्तिकोटमै मात्र कुपोषण घटाउन १ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। खाद्य डिपो, स्वास्थ्य चौकी र प्रहरी चौकी रहेका छन्। सडक पुगेको छ। चेतनामूलक कार्यक्रम पनि सञ्चालन भएका छन्। तर, गरिबी र पछौटेपन घटाउन भने सकिएको छैन।

हाल मुक्तिकोटमा २५ जना कुपोषित बालबालिकाको उपचार रोकिएको छ। स्वास्थ्य चौकीले समयमै माग गरे पनि आवश्यक सामग्री नपुगेको इन्चार्ज विकको भनाइ छ। ूगाउँपालिकामा अभाव भएको सूचना सम्बन्धित निकायलाई समयमै दिएको थियौं। केही दिनमा आरयूटीएफ आउने जानकारी छ, विकले बताउनुभयो।

जिल्ला पोषण कार्यक्रम संयोजक स्टाफ नर्स निर्मला विकका अनुसार, कुपोषण अन्त्य गर्न विभिन्न कार्यक्रम सञ्चालनमा छन्। हालसम्म ५१ जना कुपोषित आमा र बालबालिकाको जिल्ला अस्पतालमा उपचार गरिएको छ।

स्वामीकार्तिककै साविक साप्पाटा गाविस कुपोषणका हिसाबले जिल्लाकै सबैभन्दा संवेदनशील क्षेत्र हो। यहाँ जन्मदर अत्यधिक छ, तर परिवार नियोजनप्रति चासो न्यून। न पुरुषहरू बन्ध्याकरण गर्न चाहन्छन्, न महिलाहरू। ‘बन्ध्याकरण गरे कमजोरी आउँछ’ भन्ने भ्रम व्यापक छ। पुरुष भारत जान्छन्, महिला सन्तान र घर सम्हाल्छन्। परिवार नियोजनका लागि शिविर सञ्चालन गरिए पनि सहभागिता न्यून रहन्छ।

समस्या कुपोषण मात्र होइन, चेतनाको पनि हो। जबसम्म जनचेतना, शिक्षा, स्वास्थ्य पहुँच र पोषण सुरक्षामा समन्वित पहल हुँदैन, तबसम्म मुक्तिकोटको पीडा केवल समाचारमा सीमित भइरहनेछ।