सोमबार २३ असार, २०८२

नेपाली समय

सञ्चालनमा नआएको बालउद्यान जीर्ण बन्दै

सञ्चालनमा नआएको बालउद्यान जीर्ण बन्दै

दोलखाको गौरीशङ्कर गाउँपालिका–२, इविथानमा बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको बालउद्यान चार वर्ष बित्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। सामाजिक विकास मन्त्रालयबाट प्राप्त एक करोड ५३ लाख रुपैयाँको लागतमा बनेको उक्त बालउद्यान बेवास्ताका कारण जीर्ण बन्दै गएको हो।

गाउँपालिकाका सूचना अधिकारी भीमसेन विष्टका अनुसार आवतजावतमा सहजता नभएको र उचित व्यवस्थापन नहुँदा बालउद्यान सञ्चालनमा आउन नसकेको हो। विष्टले भन्नुभयो संरक्षणसमेत हुन नसक्दा खेलकुदका सामग्रीहरू खिया लागेर जोखिम बनेका छन्।

चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त बालउद्यानको गेट ताला लगाइएको भए पनि केही स्थानीय बालबालिका जबरजस्ती पसेर खेल्ने गरेको जनाइएको छ। नजिकै वडा कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, सहकारी र झन्डै ७० घरधुरी रहेको यस क्षेत्रका लागि बालउद्यान एक पर्यटकीय केन्द्र बन्ने सम्भावना बोकेको थियो।

स्थानीयवासी छिन्डोमा शेर्पाले बालउद्यान चाँडै सञ्चालनमा ल्याउन सकिए यस क्षेत्रका बालबालिकाले फुर्सदको समयमा रमाउन पाउने बताउनुभयो। उहाँले भन्नुभयो, स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई सहज हुने थियो।

प्रदेश सरकारको लगानीमा उपयुक्त स्थानमा निर्माण गरिए पनि समयमै सञ्चालनमा ल्याउन नसकिएको भन्दै स्थानीयले आलोचना गरिरहेका छन्। स्थानीय व्यवसायी राजन घतानीले बालबालिकाका लागि अत्यन्त आवश्यक मानिएको सुविधा सञ्चालन नहुँदा यो संरचना उपयोगविहीन बनेको गुनासो गर्नुभयो।