सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ नम्बर वडालाई शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। "बालबालिकामा गरिएको लगानी, सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नारासहित जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले औपचारिक रूपमा वडालाई बालमैत्री वडा घोषणा गर्नुभयो।
वडा अध्यक्ष यादव ठकुरीका अनुसार, वडाले नेपाल सरकारद्वारा निर्धारण गरिएका ५१ वटा सूचकहरू मध्ये ३८ सूचकमा १०० प्रतिशत र बाँकी १३ सूचकमा ९५–९७ प्रतिशत सम्मको प्रगति हासिल गरेकाले यो मान्यता प्राप्त भएको हो।
वडाभित्रका सबै विद्यालय उमेर समूहका बालबालिका विद्यालयमा आवद्ध छन्, बालविवाह छैन, बालश्रममुक्त वातावरण छ, सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् र बालमैत्री पूर्वाधार निर्माण भइसकेका छन्।
वडाले २०७९ पुस १६ गतेदेखि बालमैत्री घोषणा प्रक्रियाको थालनी गर्दै ५ चरणका २८ तहगत कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको बताइएको छ। वडाका अनुसार हाल १८ वर्षमुनिका बालबालिका ८८६ जना छन्। यस्तै, पालिकाभर १२ वटा बालसमूह, १ बालसमूह सञ्जाल, र विभिन्न संरचनागत समितिहरूमा २३९ जना बालबालिका सक्रिय सहभागितामा रहेको छ ।