सोमबार २३ असार, २०८२

नेपाली समय

समुन्नत राष्ट्रका आधार बालबालिका हुन्: मुख्यमन्त्री कँडेल

समुन्नत राष्ट्रका आधार बालबालिका हुन्: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कँडेलज्यूले बालबालिकालाई राष्ट्रको उज्ज्वल भविष्यका रूपमा उल्लेख गर्दै, उनीहरूको हितमा केन्द्रित रहेर नीति, योजना र कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको स्पष्ट पार्नुभएको छ।

शनिबार वीरेन्द्रनगर नगरपालिका–८ द्वारा आयोजना गरिएको पर्यावरणमैत्री तथा बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलज्यूले बालबालिकाको संरक्षण, समुचित विकास र प्रभावकारी सहभागिताका लागि स्थानीय, प्रदेश तथा संघीय सबै तहका सरकारहरू जिम्मेवार र संवेदनशील बन्नु अत्यावश्यक रहेको विचार व्यक्त गर्नुभयो।
यदि हामीले आजका बालबालिकालाई सुरक्षित, सशक्त र सम्मानजनक वातावरण प्रदान गर्न सक्यौँ भने मात्र भोलिको समुन्नत, न्यायसंगत र समावेशी समाजको परिकल्पना साकार पार्न सकिन्छ, उहाँले उल्लेख गर्नुभयो।
मुख्यमन्त्रीले वातावरण संरक्षण र बाल अधिकार प्रवर्द्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै भन्नुभयो, स्वस्थ वातावरणमा हुर्कने बालबालिकाहरू नै समृद्ध राष्ट्र निर्माणका आधार स्तम्भ हुन्। उहाँले कर्णाली प्रदेश सरकार बालमैत्री समाज निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै, स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षाको अधिकार सुनिश्चित गर्न नीतिगत, बजेटीय र कार्यक्रमगत रूपमा प्राथमिकता दिइएको जानकारी दिनुभयो।

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, शिक्षकगण, विद्यार्थी, बाल क्लबका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।