सोमबार २३ असार, २०८२

नेपाली समय

सुर्खेतको वीरेन्द्रनगर–८ बालमैत्री घोषणा

सुर्खेतको वीरेन्द्रनगर–८ बालमैत्री घोषणा

 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ लाई औपचारिक रूपमा बालमैत्री तथा वातावरणमैत्री वडा घोषणा गरिएको छ। शनिबार आयोजित विशेष समारोहका बीच वडाले आवश्यक मापदण्डहरू पूरा गरेपछि यो घोषणा गरिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, र कार्यविधि २०७९ मा उल्लेखित ५१ सूचक तथा मापदण्डहरू पूरा गरेसँगै वडाले बालमैत्री दर्जा प्राप्त गरेको हो। साथै, वातावरण संरक्षणसम्बन्धी तोकिएका सूचकहरू समेत सफलतापूर्वक कार्यान्वयन गरेपछि वडालाई वातावरणमैत्री स्थानीय शासनयुक्त वडाको रूपमा पनि मान्यता दिइएको छ।
घोषणा कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कँडेलले स्थानीय तहले प्रत्येक नीति, योजना र कार्यान्वयनमा बालबालिका र वातावरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकाको संरक्षण, समुचित विकास र सहभागीता सुनिश्चित गर्न संघीय, प्रदेश तथा स्थानीय सबै तहका सरकारहरू जिम्मेवार र संवेदनशील बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले एक वर्षभित्र सम्पूर्ण वीरेन्द्रनगर क्षेत्रलाई बालमैत्री तथा वातावरणमैत्री नगरपालिकाको रूपमा घोषणा गर्ने तयारी रहेको जानकारी दिनुभयो। उहाँले नगरपालिकाबाट तय हुने नीति तथा विकास निर्माण कार्यहरू बालबालिकाको हित र वातावरणीय संवेदनशीलतालाई ध्यानमा राखी अगाडि बढाइरहेको बताउनुभयो।