बुधबार २५ असार, २०८२

नेपाली समय

कोहलपुरबाट तीन विद्यार्थी बेपत्ता, भारत गएको आशंका

कोहलपुरबाट तीन विद्यार्थी बेपत्ता, भारत गएको आशंका

बाँकेको कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलमा अध्ययनरत तीन जना विद्यार्थी विद्यालयबाटै बेपत्ता भएका छन्। हराएका ती किशोरहरू भारततर्फ गएको आशंका गरिएको छ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।

प्रहरी नायब उपरीक्षक ९डीएसपी० लक्ष्मी खनालले विद्यार्थीहरू विद्यालयमै रहेको पुष्टि भए पनि दिउँसो करिब ४ः३० बजेतिर उनीहरू एकाएक बेपत्ता भएको जानकारी दिनुभयो। घटनापछि प्रहरीलाई तुरुन्त जानकारी दिइएपछि खोजी कार्य प्रारम्भ गरिएको उहाँले बताउनुभयो।

“तीन जनामध्ये एक जनाले प्रयोग गर्ने मोबाइल सेटमा भारतीय सिमकार्ड प्रयोग भएको देखिएको छ। अरू दुई जनाको फेसबुक खाता पनि सक्रिय अवस्थामा देखिएको छ,” डीएसपी खनालले भन्नुभयो, “यस आधारमा उनीहरू भारततर्फ गएको हुनसक्ने प्रारम्भिक आशंका छ।”

बालकहरूको अवस्था तीन दिन बितिसक्दा पनि अज्ञात रहँदा परिवारजन अत्यन्त चिन्तित छन्। प्रहरीका अनुसार उनीहरूको खोजी नेपाल र भारत दुबै तर्फ भइरहेको छ। भारतमा रहेका आफन्त तथा सम्बन्धित निकायसँग समन्वय गरेर खोजी कार्य विस्तार गरिएको छ।

विद्यालयका प्रधानाध्यापक विष्णु केसीले ती विद्यार्थीहरू असार २२ गते नियमित रूपमा विद्यालयमा उपस्थित रहेको तर दिउँसोको कक्षापछि हराएको जानकारी दिनुभयो।

“विद्यार्थीहरू बेपत्ता भएलगत्तै इलाका प्रहरी कार्यालय, कोहलपुरलाई खबर गरिएको थियो। साथै, नेपाल प्रहरीको अनुसन्धान ब्यूरो ९सीआईबी० लाई पनि पत्राचार गरिएको छ,” प्रधानाध्यापक केसीले भन्नुभयो।

उहाँका अनुसार हराएका किशोरहरूले विद्यालयमा रहँदा नै भाग्ने योजना बनाइरहेको कुरा उनका केही साथीहरूले बताएका छन्। सोही आधारमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

यसबीचमा, इलाका प्रहरी कार्यालय कोहलपुरले आम नागरिकलाई हराएका बालकहरूको बारेमा कुनै जानकारी भएमा तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ।