प्रतिनिधिसभाको आजको बैठकमा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले उक्त विधेयक सभा समक्ष पेस गर्नुभएको हो।
विधेयक प्रस्तुत गर्दै मन्त्री सुडीले संविधानद्वारा प्रदत्त बालबालिकाका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान ऐनमा समयानुकूल परिमार्जन आवश्यक रहेको बताउनुभयो।
“बाल न्याय प्रणालीलाई अझ सहज, सरल र बालमैत्री बनाउनुका साथै बाल संरक्षण प्रणालीलाई संस्थागत तथा सुदृढ गर्न संशोधन प्रस्ताव गरिएको हो,” मन्त्री सुडीले भन्नुभयो, “विधेयकले बालअधिकारका सबै पक्षबीच सन्तुलन कायम गर्न मद्दत गर्नेछ।”
विधेयक पेस गर्नुअघि मन्त्री सुडीले त्यसका लागि अनुमति माग सम्बन्धी प्रस्ताव राख्नुभएको थियो। बैठकको अध्यक्षता गरिरहनुभएकी उपसभामुख इन्दिरा रानाले प्रस्तावमाथि कुनै सांसदको विरोध नआएकाले विधेयक पेस गर्न स्वीकृति दिनुभयो।
त्यसअघि बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समिति अन्तर्गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पेस गर्नुभएको थियो।