पश्चिम बागलुङको बडीगाड गाउँपालिका–२ स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले पढ्नका साथसाथै खेतबारीमा पसिना बगाउँदै छन्। गत शुक्रबार विद्यालयका विद्यार्थीहरू धान रोपाइँमा व्यस्त रहे। यसअघि हिउँदे मकै र तोरी राम्रो उत्पादन भएपछि विद्यालय परिवार थप उत्साहित भएको छ।
विद्यालयले चार वर्षदेखि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई व्यावहारिक कृषि शिक्षा दिन आफ्नै खेतबारीमा अन्नबाली र तरकारी खेती गराउँदै आएको छ। त्रिभुवन माविमा अहिले तीनवटा हाइटेक प्लास्टिक टनेल छन्, जहाँ गोलभेंडा, खुर्सानी, बोडी, सागलगायतका तरकारी उत्पादन हुन्छन्। खेतीबारीमै काम गर्दै विद्यार्थीहरू जीवनोपयोगी सीप सिकिरहेका छन्।
प्रधानाध्यापक ढालमणि भण्डारीका अनुसार, गण्डकी प्रदेश सरकारले दिएको दुई लाख रुपैयाँको बीउ पुँजीबाट सुरु गरिएको यो प्रयासले विद्यार्थीहरूलाई श्रम, सीप र आत्मनिर्भरता सिकाइरहेको छ। उहाँले भन्नुभयो, “एक दिन टनेलमा काम गर्दा विद्यार्थीले कक्षाभन्दा बढी कुरा सिक्छन्। काम पनि, पढाइ पनि र सँगै बचत र सदुपयोगको व्यवहार पनि।”
तरकारी र अन्नबाली बिक्रीबाट भएको आम्दानीबाट विद्यालयले शैक्षिक सामग्री, सरसफाइ सामग्री र स्वास्थ्य उपकरण खरिद गरेको छ। विद्यालयका झन्डै एक सय विद्यार्थी पालैपालो खेतबारीमा काम गर्छन्। ‘कमाउँदै, पढ्दै’ अभियानमा सहभागी विद्यार्थीहरू कृषिप्रतिको रूचि बढ्दै गएको देखिन्छ।
यस्तै अभ्यास गलकोट नगरपालिका–३ स्थित गलकोट माध्यमिक विद्यालयमा पनि सुरु भएको छ। भाडामा लिएको करिब १० रोपनी जमिनमा विद्यालयले व्यावसायिक तरकारी खेती गरिरहेको छ। यहाँ कृषि प्राविधिक शिक्षकसमेत रहेकाले विद्यार्थीले खेतीसँगै बाली विज्ञानसम्बन्धी ज्ञान पनि प्राप्त गरिरहेका छन्।
विज्ञान शिक्षक गङ्गाराम सुवेदीले गोलभेंडाको पात घुम्रिने रोगदेखि सिंचाइ अभावमा हुने असरबारे व्यावहारिक रूपमा पढाउने गर्नुभएको छ । कक्षा १२ की छात्रा विन्दु बस्नेत भन्नुहुन्छ, “घरमा पनि अब हामीले आमाबुबालाई सल्लाह दिन सक्छौं। खेतबारीमा सिकेको कुरा पढ्नभन्दा बढी व्यवहारिक लाग्छ।”
गलकोट माविमा प्लास्टिक टनेलभित्र गोलभेंडा, बन्दागोभी, काउली, मुला, साग र बाहिरी खेतमा धान, तोरी र गहुँको उत्पादन भइरहेको छ। विद्यालयले विज्ञान संकाय अन्तर्गत कृषि विषयको औपचारिक पढाइ समेत सञ्चालनमा ल्याएको प्रधानाध्यापक देवेन्द्र खत्रीले जानकारी दिनुभयो।