शुक्रबार ०६ भदौ, २०८२

नेपाली समय

फुङलिङ–८ को पहल बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स

फुङलिङ–८ को पहल बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–८ ले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।

वडाको वार्षिक बजेट अन्तर्गत यो सेवा आर्थिक वर्ष २०८२र८३ का लागि लागू गरिएको हो। वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार, अस्पताल जान कठिनाइ हुने दुर्गम बस्तीका वृद्धवृद्धा र बालबालिकालाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको हो।

ूवडाभित्रै भए पनि धेरै वृद्धवृद्धा र बालबालिकालाई अस्पताल पुग्न आर्थिक कारणले समस्या भइरहेको थियो, वडाध्यक्ष सुनुवारले भन्नुभयो त्यही भएर स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले यो सेवा सुरु गरेका हौं।

निःशुल्क सेवा लिन चाहनेले वडा कार्यालय, वडाध्यक्ष, वडा सदस्य वा वडाद्वारा तोकिएका एम्बुलेन्स चालकसँग सम्पर्क गरेमा तत्काल सेवा उपलब्ध हुनेछ।

फुङलिङ–८ ले अघिल्लो वर्षदेखि वडाबासीको मृत्यु भएमा किरिया खर्चस्वरूप १० हजार रुपैयाँ सहयोग दिने योजना पनि सञ्चालनमा ल्याएको छ। यसले शोकमा परेका परिवारलाई केही आर्थिक राहत पुगेको छ।

त्यस्तै, वडाले सुत्केरी महिलालाई पोषणका लागि एउटा कुखुराको भाले, नखानेलाई घिउ, अण्डा तथा अन्य पोसिलो परिकार प्रदान गर्दै आएको छ।

शिक्षा क्षेत्रमा पनि वडाको सक्रियता देखिएको छ। वडाभित्रका सात विद्यालयका हरेक वर्ष सर्वाधिक उपस्थिति गराउने तीन विद्यार्थीलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिइन्छ। यसैगरी, उत्कृष्ट शिक्षण गर्ने शिक्षकलाई पनि वडाले सम्मान गर्दै आएको छ।

वडाध्यक्ष सुनुवार भन्नुहुन्छ, हाम्रो वडा नगरपालिकाभित्रै भए पनि भौगोलिक हिसाबले दुर्गम छ। त्यसैले यस्ता कार्यक्रममार्फत जनताको जीवन सहज बनाउने प्रयास गरेका हौं।