शुक्रबार ०६ भदौ, २०८२

नेपाली समय

कक्षा ११ र १२ छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित, १० हजारभन्दा बढी उत्तीर्ण

कक्षा ११ र १२ छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित, १० हजारभन्दा बढी उत्तीर्ण
सुन्नुहोस्

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

महानगरको शिक्षा विभागका अनुसार बिहीबार सम्पन्न उक्त परीक्षामा ५४ वटा परीक्षा केन्द्रहरूमा १४ हजार १७३ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। विभागले ४० अंक नपुग्ने विद्यार्थीलाई अनुत्तीर्ण घोषणा गरेको छ।

देशभरका ७७ वटै जिल्लाबाट छात्रवृत्तिका लागि १७ हजार २२९ आवेदन प्राप्त भएका थिए। तीमध्ये १६ हजार १३७ जना विद्यार्थीलाई परीक्षा दिन अनुमति दिइएको थियो।

छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ। विद्यार्थीहरूले आफ्नो एसईई सिम्बोल नम्बर, जन्म मिति र इमेल वा एसएमएसमार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्। छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा यहाँ बाट हेर्न सकिनेछ । 

महानगर क्षेत्रभित्र सञ्चालित १६० वटा संस्थागत विद्यालयमा चार हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध रहेको शिक्षा विभागले जनाएको छ। छात्रवृत्तिको यस व्यवस्थामार्फत आर्थिक रूपमा कमजोर, विपन्न, जेहेन्दार तथा समुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिने उद्देश्य राखिएको छ।