शुक्रबार ०६ भदौ, २०८२

नेपाली समय

नेडी र भीएफएस ग्लोबलको साझेदारीमा ललितपुरको विद्यालय सरसफाइ तथा रंगरोगन कार्याक्रम सम्पन्न

नेडी र भीएफएस ग्लोबलको साझेदारीमा ललितपुरको विद्यालय सरसफाइ तथा रंगरोगन कार्याक्रम सम्पन्न

नेपाल डेभलपमेन्ट इनिसिएटिभले भीएफएस ग्लोबलको सहकार्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–थकुरीगाउँस्थित श्री श्रृङ्गेरी सामुदायिक माध्यमिक विद्यालयमा एक दिवसीय सरसफाइ तथा रंगरोगन कार्याक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

साउन १० गते सम्पन्न यस कार्याक्रममा १२२ जना स्वयंसेवकहरू सहभागी भएका थिए । उनीहरूले विद्यालयका कोठाहरूमा रंगरोगन गरी अध्ययनको वातावरण आकर्षक बनाएका थिए। कार्यक्रममा १० थान फोहोर व्यवस्थापन डस्टबिन विद्यालय लाई प्रदान गरिएको थियो । साथै १०० भन्दा बढी बिरुवाहरू रोपेर विद्यालय परिसरलाई हरियालीयुक्त बनाइएको छ।

कार्यक्रमको क्रममा विद्यार्थी तथा शिक्षकहरूलाई वातावरणीय सचेतना सम्बन्धी सत्र पनि सञ्चालन गरिएको थियो, जसमा सफाइ, फोहोर वर्गीकरण र व्यक्तिगत दायित्व विषयमा जानकारी प्रदान गरियो।

कार्यक्रममा बोल्दै भीएफएस ग्लोबल दक्षिण एशियाकी प्रमुख कार्यकारी अधिकृत युम्मी तालवारले भनिन् “यो अभियान रंग र बोटबिरुवासम्म सीमित छैन, यसले विद्यार्थीहरूमा स्वामित्व र वातावरणीय जिम्मेवारीको बीउ रोप्ने काम गरेको छ। जब कक्षा कोठाहरू आकर्षक हुन्छन्, शिक्षण सिकाइ थप प्रभावकारी हुन्छ।”

कार्यक्रममा नेडीका अध्यक्ष अर्जुन भट्टराईले “यो अभियानले विद्यालयको भौतिक सुधार मात्र नभई वातावरणमा स्वामित्व लिन प्रेरित गर्ने लक्ष्य राखेको छ। यसले अन्य ठाउँहरूमा पनि यस्ता पहल गर्न उत्प्रेरणा दिनेछ।” बताउनुभयो ।

सरसफाइ तथा रंगरोगन कार्यक्रमबाट ३५० जना विद्यार्थी र २४ जना शिक्षकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विद्यालयकी प्रधानाध्यापक निशा केसीले सहयोगप्रति आभार व्यक्त गर्दै भनिन् “हामीसँग विद्यालयको वातावरण सुधार गर्ने स्रोतहरू थिएनन्। नेडी र भीएफएस ग्लोबलको सहयोगले विद्यालयमा ठूलो परिवर्तन ल्याएको छ। आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा राख्छौं।”