शुक्रबार ०६ भदौ, २०८२

नेपाली समय

प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको उद्घाटन
सुन्नुहोस्

विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकास प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ।

बिहीबार काठमाडौँस्थित दशरथ रंगशालामा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसहित विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो। प्रधानमन्त्री ओलीले बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, अर्थमन्त्री विष्णु पौडेल तथा अन्य विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यो कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। नेपालमा यस कार्यक्रमको कार्यान्वयन एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा भइरहेको छ।

एन्फाका अनुसार विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो।

कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई आवश्यक तालिम, साथै फुटबललाई शिक्षण विधिको रूपमा प्रयोग गरिनेछ। यस माध्यमबाट बालबालिकालाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता, लैङ्गिक समानता र सामाजिक समावेशिताजस्ता जीवनोपयोगी सीपहरू सिकाइनेछ।