बागमती प्रदेशलाई ‘पूर्ण खोपयुक्त’ प्रदेश घोषणा गरिएको छ। प्रदेशका १३ वटै जिल्ला र ११९ वटै स्थानीय तहमा १६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र सम्पूर्ण खोप प्राप्त गरिसकेपछि औपचारिक घोषणा गरिएको हो।
भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स् हलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्नुभयो। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय पूर्ण खोप समन्वय समिति बाट प्राप्त प्रमाणपत्रका आधारमा घोषणा गरिएको हो।
समारोहमा प्रधानमन्त्री ओलीले खोप उपलब्धताको प्रमाणपत्र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई हस्तान्तरण गर्नुभयो। त्यस्तै, उहाँले प्रदेशस्तरीय डिजिटल हेल्थ कार्यक्रम को पनि औपचारिक रूपमा उद्घाटन गर्नुभयो।
घोषणापछि मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले बागमती प्रदेशलाई पूर्ण खोप अभियान सफल बनाएकोमा बधाई दिनुभयो। उहाँले “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय लक्ष्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै स्वस्थ मानव, स्वस्थ पशुपन्छी र सफा वातावरण भएको नेपाल निर्माणमा सबैको साथ र सक्रियता आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “रोग लाग्न सक्छ, तर हामीले रोग लाग्ने कारण र बाटाहरू रोक्नुपर्छ। त्यसका लागि खोप एउटा प्रभावकारी माध्यम हो। संविधानले स्वास्थ्य सेवा मौलिक हकको रूपमा सुनिश्चित गरेको छ, त्यस हकको प्राप्तिका दिशामा खोप अभियान सार्थक बन्दै गएको छ।”
प्रधानमन्त्री ओलीले आगामी वर्ष २०८३ सम्ममा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य पूरा गर्न पनि यस्ता स्वास्थ्य अभियानहरू महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप अभियानमा विशेष योगदान पुर्याउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गर्नुभयो।
त्यस अवसरमा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले निरन्तर प्रयास, जनचेतना र स्थानीय तहको समन्वयका कारण पूर्ण खोप अभियान सफल भएको धारणा व्यक्त गर्नुभयो।