सर्लाही जिल्लाको भौगोलिक रूपमा विकट क्षेत्र लालबन्दी नगरपालिकामा दुई सयभन्दा बढी बालबालिका कुपोषणको अवस्थामा पुगेका छन्। नगरपालिकाको दुर्गम वडाहरू १४, १५ र १६ मा पोषणयुक्त आहार, उचित हेरचाह र अभिभावकीय उपस्थितिको अभावले कुपोषणको समस्या चर्किएको हो।
स्वास्थ्य सहायक रोशन चौधरीका अनुसार, लालबन्दी–१५ को बाहुनीडाँडा र अर्नेडाँडा, वडा नं. १४ को नारायणखोला तथा वडा नं. १६ को माथिल्लो प्रवानीपुर क्षेत्रमा कुपोषणका लक्षण देखिने बालबालिकाको संख्या उल्लेख्य रहेको छ।
उहाँले स्वास्थ्य सेवा पहुँचविहीन रहेको बताउँदै स्थानीय स्रोतसाधनमा आधारित पोषणयुक्त खाना र स्याहारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। यद्यपि सरकारले कुपोषण न्यूनीकरणका लागि नीति तथा कार्यक्रम ल्याएको भए पनि ती कार्यक्रमहरू दुर्गम बस्तीसम्म प्रभावकारी रूपमा लागू हुन नसकेको स्थानीयको गुनासो छ।
लालबन्दी–१५, बाहुनीडाँडाकी विनिता बाईवाका अनुसार, “बालबालिकालाई समयमा खाना खुवाउने अभिभावक घरमै नहुने हुँदा बच्चाहरू दुब्लाउँदै गएका छन्।” चुरे क्षेत्रमा बसोबास गर्ने अधिकांश परिवारको आयस्रोत मजदुरी भएकाले बाबुआमा बिहानै काममा जानुपर्ने र बच्चाहरूलाई बासी खाना खाएर दिनभर घरमै बस्नुपर्ने बाध्यता छ।
प्रेमबहादुर घलानका अनुसार, “वर्षभरि खान नपुग्ने र आम्दानीको लागि घर छाड्नुपर्ने बाध्यताले बच्चाहरू कुपोषित हुँदै गएका छन्।”
शान्तिमाया गोले भन्नुहुन्छ, “बच्चाहरूले बेलामा खान पाउँदैनन्, रोटी र बासी भात राखेर छोड्नुपर्छ। खोप लगाउन तीन घण्टा टाढा चिसापानीको कटहरबोट लैजानुपर्छ। अहिलेसम्म गाउँमा कुनै स्वास्थ्यकर्मी पनि आएको छैन।”
स्वास्थ्य सेवाको पहुँच नहुनु र जनचेतनाको अभावले गर्दा समस्या अझ गम्भीर बनेको छ। स्वास्थ्य शाखा प्रमुख सुरेश खतिवडाका अनुसार, “गर्भवती आमाले पोषणयुक्त खाना नपाउँदा जन्मिने बच्चाहरू कुपोषित, कमजोर र कहिलेकाहीं अपाङ्गसमेत हुने गरेका छन्। गाउँमै पाइने पोषिलो खानेकुरा पनि उपयोगमा नआउनु समस्याको अर्को जड हो।”
वर्षायाममा सिंगो गाउँ सडक सम्पर्कबाट टुट्ने गरेकाले बिरामीलाई डोको वा झोलुङ्गोमा तीन घण्टा हिँडेर लालबन्दीसम्म ल्याउनुपर्ने बाध्यता स्थानीयले झेलेका छन्। कच्ची सडक हिउँदमा खुला भए पनि वर्षातमा बन्द हुने गरेको छ।