सोमबार २० असोज, २०८२

नेपाली समय

जेनजी आन्दोलनपछि नेपालमा बाल संरक्षणमा चुनौती बढ्यो : अध्यक्ष पौडेल

जेनजी आन्दोलनपछि नेपालमा बाल संरक्षणमा चुनौती बढ्यो : अध्यक्ष पौडेल

हालै सम्पन्न जेनजी आन्दोलनपछिको अस्थिरताले नेपालमा बाल संरक्षणको क्षेत्रमा गम्भीर असर पारेको भन्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गहिरो चिन्ता व्यक्त गरेको छ । 

शनिबार राजधानी काठमाडौंमा आयोजित ‘जेनजी आन्दोलनपछिको सन्दर्भमा नेपालमा बाल संरक्षणका लागि रणनीतिक मार्गचित्र विषयक छलफल कार्यक्रममा बोल्दै सिजपका अध्यक्ष तिलोत्तम पौडेलले पछिल्ला घटनाक्रमले बालबालिका र तिनीहरूका संरक्षण संस्था गम्भीर संकटमा परेको बताउनुभयो।

“हामीले यस पटक बाल दिवसको शुभकामना समेत राम्रोसँग दिन सकेनौं। आन्दोलनकै क्रममा सिजपको कार्यालय तोडफोड भयो। यस्तो कठिन परिस्थितिमा पनि बालबालिकाको पक्षमा केही गर्नैपर्छ भन्ने महसुस गर्दै अघि बढिरहेका छौं,” पौडेलले भन्नुभयो।

उहाँका अनुसार आन्दोलनका बेला जेलबाट कैदीहरू छ्यापछ्याप्ती भागेका कारण समाजमा असुरक्षाको अवस्था बढेको छ। यसले विशेषगरी बालबालिका र महिलाको सुरक्षामा थप चुनौती थपिएको उहाँको भनाइ थियो। “अहिले त झन् अपराधीहरू जेलबाहिर छन्। तिनीहरूबाट बालबालिका र महिला असुरक्षित हुने अवस्था सिर्जना भएको छ,”।

पौडेलले विशेष गरी अपांगता भएका बालबालिका, अल्पसंख्यक समुदायका बालबालिका तथा विपन्न परिवारका बालबालिका अझ बढी जोखिममा परेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, आन्दोलनपछिको असहज परिस्थितिले बाल संरक्षणका क्षेत्रमा कार्यरत संस्था र व्यक्तिहरू समेत निष्क्रियजस्तै बनेका छन्, जसले दीर्घकालीन असर पार्ने खतरा बढाएको छ।

सिजपले छलफलमार्फत आन्दोलनपश्चात् बाल संरक्षणका लागि दीर्घकालीन रणनीतिक मार्गचित्र तयार गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ।