दशैं नेपाली समाजको सबैभन्दा ठूलो र रमाइलो चाड हो । यो चाडले बालबालिका देखि वृद्ध सबै उमेरका मानिसलाई खुसी ल्याउँछ । बालकदेखि वृद्धसम्म, महिला–पुरुष सबैले दशैंलाई उत्साहका साथ मनाउँछन् । नयाँ लुगा लगाउने, टीका–जमरा लगाउने, पिङ्ग खेल्ने, मिठा खानेकुरा खाने, आफन्तसँग भेटघाट गर्ने र रमाइलो गर्ने—यी सबै कुराले दशैंलाई विशेष बनाउँछ ।
विद्यालयले दशैंको समयमा बालबालिकालाई लामो बिदा दिने भएकाले उनीहरू घर फर्केर परिवारसँग समय बिताउन पाउँछन् । यो समय केवल खेलकुद र मिठो खानामा मात्र सीमित राख्नु हुदैन् । बालबालिकाले यो अवसरबाट धेरै कुरा सिक्न सक्छन् । दशैं केवल रमाइलोको चाड नभई संस्कार, संस्कृति र ज्ञानको सिकाइको अवसर पनि हो । आज हामिले दसैं लाई कसरी रमाइलो, सिकाइ र संस्कारको समय बनाउन सकिन्छ भनेर कुरा गर्दछौं ।
दशैंको बिदा किन आवश्यक छ ?
बालबालिकाले वर्षभरि स्कुलमा अनुशासन, गृहकार्य र कक्षामा ध्यान दिँदै बितानुपर्दछ । कहिलेकाहीँ निरन्तर पढाइले उनीहरूलाई थकाई र बोझ महसुस हुन सक्छ । यसैले बेलाबेलामा लामो बिदा आवश्यक हुन्छ । बिदा पाउँदा बालबालिकाले विद्यालयको एकोहोरो दिनचर्या र अनुशासनबाट स्वतन्त्र भएर खेल्न, घुम्न र परिवारसँग रमाइलो गर्न सक्छन् ।
वयस्कहरूका लागि पनि छुट्टी आवश्यक हुन्छ । कामको तनाव कम हुन्छ र मस्तिष्क ताजा हुन्छ । यसै कारण बालबालिकाको लामो बिदा उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
तर, सबै बालबालिकाले लामो बिदालाई खुसीसँग अनुभव गर्दैनन् । कतिपय बालबालिकालाई बिदा हुँदा मात्र कामको बोझ कम हुने छैन । स्कुलबाट धेरै गृहकार्य पाउने, साथीहरूसँग समय नपाउने, घरमा अनुशासन कडा हुने, पारिवारिक समस्या हुने वा अभिभावकहरू व्यस्त हुने बालबालिकाले लामो बिदालाई त्यति उत्साहजनक अनुभव गर्दैनन् ।
त्यसैले बिदाको समय सदुपयोग र योजना अनुसार रमाइलो बनाउनु आवश्यक छ ।
बालबालिकाले दशैंको बिदामा सिक्न सक्ने कुरा
१. संस्कार र संस्कृति सिक्ने अवसर
दशैं केवल टीका र जमराको चाड मात्र होइन । बालबालिकाका लागि यो संस्कार, संस्कृति र ज्ञान सिक्ने ठूलो अवसर हो । दशैंको बिदामा अभिभावकले बच्चाहरूसँग समय बिताउँदा उनीहरूले पूजा र पूजाविधि, टीका र जमराको महत्व बुझ्न सक्छन् ।
बालबालिकाले प्रश्न गर्न सक्छन् “किन ठूलोले सानोलाई मात्र टीका लगाउँछन्”, “नवरात्रमा नौ देवीको पूजा किन गरिन्छ ?“, “दुर्गा, लक्ष्मी र सरस्वतीको शक्ति र अर्थ के हो?“, “जमरा र अक्षताको महत्व के हो?“
यी प्रश्नहरूको सरल तरिकाले जवाफ दिँदा बालबालिकाले परम्परा र संस्कार मात्र बुझ्दैनन्, उनीहरूको बुद्धि, चेतना र सोचाइ पनि विकसित हुन्छ । यसरी सिकाइले बालबालिकामा आफ्नो संस्कृतिप्रतिको सम्मान र रुचि बढाउँछ ।
२. घरमा सहयोग गर्ने सीप हासिल गर्ने
बिदाको समयमा बालबालिकाले घरमा सहयोग गर्ने साना–साना काम सिक्न सक्छन् । उमेरअनुसार कोठा सफा गर्ने, कपडा राख्ने, जुत्ता–मोजा मिलाउने र पाहुनाको सत्कार गर्ने अभ्यास गर्दा उनीहरू जिम्मेवार बन्न सक्छन् ।
गाउँघरमा बस्ने बालबालिकाले लिपपोत गर्ने, करेसाबारीमा साना काम गर्न सक्दछन् । यसले उनीहरूलाई घर र समाजसँग सम्बन्धित व्यवहार सिकाउँछ र भविष्यमा जिम्मेवार नागरिक बन्न सहयोग गर्छ ।
३. खेलकुद र शारीरिक स्वास्थ्य
बिदामा बालबालिकाले साथीहरूसँग दौड, पिङ, फुटबल, ब्याडमिन्टन, डन्डीबियो जस्ता खेल खेल्दा शरीर सक्रिय रहन्छ र मस्तिष्क ताजा हुन्छ । खेलले टीमवर्क, सामाजिकता र पालो पख्र्ने क्षमता पनि विकास गर्छ ।
घरभित्रै चेस, बाघचाल, गट्टा, लुँडो जस्ता बौद्धिक खेल खेल्दा रणनीति सोच, ध्यान केन्द्रित गर्ने र समस्या समाधान गर्ने क्षमता विकास हुन्छ।
४. मनपर्ने कपडा र खेलौना
दशैंमा नयाँ कपडा र खेलौना पाउँदा बालबालिकाले अत्यन्त खुसी अनुभव गर्छन् । अभिभावकले उनीहरूको रुचि अनुसार कपडा र खेलौना किनिदिँदा बच्चाहरूको निर्णय क्षमता र आत्मविश्वास बढ्छ । उनीहरूले आफ्नै रुचि अनुसार निर्णय गर्दा खुशी र सन्तुष्टि पनि बढ्छ ।
५. खाना पकाउने र नयाँ परिकार सिक्ने
दशैं मिठो खाने पर्व हो । बालबालिकालाई मिठा पकाउने, विभिन्न परिकार बनाउन र सामग्रीको महत्व बुझाउन सकिन्छ । यसले रमाइलो, सिकाइ र परिवारसँग समय बिताउने अवसर दिन्छ ।
बालबालिकाले खाना बनाउन सिक्दा सिर्जनात्मक क्षमता, आत्मनिर्भरता र जिम्मेवारीको भावना विकास हुन्छ । साथसाथै उनीहरूले खानाका गुणस्तर र सफाईबारे पनि जागरुक हुन्छन् ।
६. कथा सुनाउने र सुन्ने
बालबालिकाले कथा र कविता सुन्न मन पराउँछन् । दशैंसम्बन्धी पुराना लोककथा, रमाइला कथा र परम्परागत कथाहरू सुन्नले कल्पना शक्ति र अभिव्यक्ति क्षमता बढाउँछ ।
बालबालिकाले आफ्ना अनुभव पनि सुनाउन पाउँदा आत्मविश्वास र सामाजिक संचार क्षमतामा विकास हुन्छ । यसरी कथा मार्फत सिकाइ रमाइलो र प्रभावकारी हुन्छ ।
७. आफन्तसँग भेटघाट
दशैंको मुख्य विशेषता भनेको आफन्तसँग भेटघाट गर्नु हो । लामो बिदामा बालबालिकालाई आफन्तकहाँ लैजानु आवश्यक छ । यसले उनीहरूलाई सामाजिक व्यवहार, शिष्टाचार र सम्बन्ध विकास सिकाउँछ ।
बालबालिकाले आफन्तसँग कुरा गर्दा उनीहरूको अभिव्यक्ति क्षमता बढ्छ र आपसी सम्मान र प्रेमको भावना पनि बलियो हुन्छ ।
८. अफिस र मेलामा लैजानु
कहिले काहीँ अभिभावकले बालबालिकालाई आफैं काम गर्ने अफिस वा मेलामा लैजान सक्छन् । यसले उनीहरूलाई काम गर्ने तरिका, अनुशासन र व्यवस्थापन सिक्न मद्दत गर्छ।
मेलामा लैजाँदा रमाइलो मात्र होइन, सामाजिक अनुभव पनि बढ्छ । बालबालिकाले भिडभाडमा सुरक्षा र अनुशासन पालन गर्न सिक्छन् ।
९. घुमघाम र पर्यावरणीय ज्ञान
बालबालिकालाई नजिकको मन्दिर, गुम्बा, पोखरी, वन, सङ्ग्रहालय, ऐतिहासिक स्थलमा घुमाउने अभ्यासले अवलोकन क्षमता, प्राकृतिक ज्ञान र इतिहासबारे बुझाइ बढाउँछ ।
नयाँ ठाउँमा घुम्दा बालबालिकाले रमाइलो मात्र गर्दैनन्, अनुभवबाट धेरै कुरा पनि सिक्छन् । प्राकृतिक सौन्दर्य र ऐतिहासिक ज्ञानले उनीहरूको चेतना र मनोबल बढाउँछ ।
१०. करेसाबारी र कृषिसम्बन्धी ज्ञान
बिदाको समयमा बालबालिकालाई करेसाबारीका साना काममा लगाउन सकिन्छ ।
यसले पाठ्यपुस्तकमा मात्र नभई व्यवहारिक जीवनमा प्रयोग हुने ज्ञान सिकाउँछ ।
दशैं बिदा सदुपयोगका उपाए
बिदा सदुपयोग गर्न रुटिन बनाउनु आवश्यक छ । बिहान उठ्ने, खेल्ने, पढ्ने, सुत्ने समय मिलाएर दिनचर्या बनाउनु राम्रो हुन्छ । साथीहरूसँग खेल्दा सामाजिकता, पालो पर्खने क्षमता र टीमवर्क सिकिन्छ ।
रमाइलो र सिकाइलाई सँगै मिलाएर समय बिताउँदा बालबालिकाले दशैं बिदाको पूर्ण लाभ लिन सक्छन् । सुरक्षा र ख्याल राख्नु पनि महत्वपूर्ण छ । बालबालिकालाई घरमा एक्लै नछोड्नु, आवश्यक निगरानी राख्नु र उनीहरूलाई सकारात्मक अनुभव दिनु पर्छ । यसले उत्साह, आत्मविश्वास र सिकाइ दुवै बढाउँछ ।
दशैं केवल रमाइलो र मिठो खाने पर्व मात्र होइन। यो बालबालिकाको सिकाइ, सामाजिकता, संस्कार, खेलकुद र अनुभवको अवसर हो । अभिभावकले योजना बनाएर बालबालिकालाई रमाइलो, सिकाइ र सुरक्षा दुवै सुनिश्चित गर्नु आवश्यक छ ।
बालबालिकाले दशैंको बिदा सदुपयोग गर्दा उनीहरूको व्यक्तित्व, सामाजिकता, संस्कार र ज्ञान दुवै विकास हुन्छ । त्यसैले दशैंको बिदालाई खुसी, सिकाइ र परिवारसँगको समयको अवसरको रूपमा लिनु अति महत्वपूर्ण छ ।